काठमाडौं । ताप्लेजुङको पाथीभरामा निर्माण हुँदै गरेको केबलकार परियोजना विवादको समाधानको आवश्यकताबारे नेकपा एमालेका सांसद योगेश भट्टराईले आफ्नो आवाज उठाएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्बाध रूपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बर्द्धनका लागि मुकुम्लुब पार्क तथा संग्राहालय निर्माण गर्न माग गरे ।
उक्त विषयमा बारेमा १९ बुँदे धारणा सार्वजनिक गर्दै उनले संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रक्रिया पुरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार प्रालिले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम सुरु गरेको धारणा राखे ।

सांसद भट्टराईले निर्माण पक्षलाई सुझाव दिँदै केबलकारको सेवालाई ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक र १० वर्षमुनिका बालबालिकाका लागि निशुल्क बनाउनुपर्ने प्रस्ताव गरेका छन् । उनले प्रभावित क्षेत्रका बासिन्दालाई सुलभ सेयर वितरण र ताप्लेजुङ बासिन्दालाई ५० प्रतिशत सहुलियत दिने पनि माग राखेका छन् ।
“केबलकार परियोजनाले कुनै पनि धर्म, संस्कृति र आस्थामा अवरोध पुर्याउने सम्भावना छैन,” भट्टराईले भने, “यहाँ उठाइएका केही मुद्दाहरूको असहमति भने यथार्थसँग मेल खाँदैन।” उनले केबलकारको संरचनाले कुनै पनि धार्मिक स्थल वा आस्थामा हानि पुर्याउने संकेत नगरेको दाबी पनि गरेका छन् ।
यो परियोजना विरोधमा स्थानीय पहिचान पक्षधर र ‘नो केबलकार’ पक्षधरले पूर्वका विभिन्न क्षेत्रहरूमा अनिश्चितकालीन यातायात बन्द गरेका छन् । मंगलबारदेखि मेची राजमार्ग, ताप्लेजुङ, पाँचथर, इलाम, तमोर करिडोर, र तेह्रथुमका यातायात सेवाहरू ठप्प भएका छन् ।
शनिबार पाथीभरा क्षेत्रको बालुडाँडामा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर तीन जना घाइते भएका थिए ।





