काठमाडौं। एनएमबि बैंकले आफ्नो २९औं वार्षिक साधारणसभा पुस २५ गते आयोजना गर्ने निर्णय गरेको छ। बैंकले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसको अर्थ पुस ११ गतेअघि कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्।
सभामा बैंकले प्रतिसेयर १०० रुपैयाँ दरले ३ अर्ब रुपैयाँबराबरको ‘एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। अग्राधिकार सेयर जारीपछि पुँजी वृद्धि गर्नुपर्ने भएकोले बैंकको हालको अधिकृत पुँजी २० अर्ब रुपैयाँलाई वृद्धि गरी २५ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

अग्राधिकार सेयर जारीपछि हाल कायम जारी तथा चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँलाई वृद्धि गरी २१ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभाले नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने र त्यसमा नियमनकारी निकायबाट कुनै फेरबदल र सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृति गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।
उक्त आर्थिक वर्षका लागि बैंकले लाभांश प्रस्ताव गरेको छैन।





