काठमाडाैं । विश्वभरका ३२७ वटा शहरहरुको जीवनस्तर सर्भेक्षण रिपोर्ट ‘कस्ट अफ लिभिङ इण्डेक्स’ (सिओई) जारी भएको छ । यो रिपोर्ट अनुसार विश्वमा सबैभन्दा सस्ता शहरहरु एशियाली मुलुकका शहरहरु छन् भने युरोप र अमेरिकाका शहरहरु सबैभन्दा महंगा शहर रहेका छन् ।
बेलग्रेड डाटा कम्पनी नुबियोले शहरहरुको उपभोक्ता मूल्य सूची, घरबहाल कर, सार्वजनिक यातायात, होटलको बसाई खर्च आदिमा आधारित रहेर केही वर्षदेखि हरेक वर्ष विश्वको सबैभन्दा महँगो र सस्तो सहरको सूची सार्वजनिक गर्दै आइरहेको छ ।

दक्षिण एशियाली मुलुकहरुमध्ये काठमाडाैं तेस्रो सबैभन्दा महंगो शहर बनेको छ । ३२७ वटा शहरहरु मध्ये काठमाडाैं २९४ औं स्थानमा छ भने काठमाडाैंभन्दा महंगो शहरको रुपमा रहेको मुम्बई २८६ औं र गुडगाउँ २९१ औं स्थानमा रहेका छन् ।

विश्वका सबैभन्दा सस्तो शहर अर्थात् ३२७ वटा शहरहरुको सूचीको अन्तिम नम्बरमा भारतको कोयम्बटुर रहेको छ । ३२६ औं स्थान र ३१७ औं स्थानमा इजिप्टको अलेक्जेण्ड्रिया र कायरो परेका छन् भने अरु सस्ता शहरहरु भारत र पाकिस्तानका शहरहरु छन् । सूचीको ३२४ औं र ३२५ औं स्थानमा पाकिस्तानी शहरहरु क्रमश कराँची र लाहोर परेका छन् । त्यस्तै सूचीको ३१८, ५१९, ३२०, ३२१, ३२२ र ३२३ औं स्थानमा भारतीय शहरहरु क्रमशः कोलकोत्ता, भुवनेश्वर, कोची, सुरत, जयपुर र लखनउ परेका छन् । भारतका पुणे (२९९), दिल्ली (३०१), नोएडा (३०३), हैदराबाद (३०९), अहमदाबाद (३१०) र चेन्नई (३११) हुन् ।
एशियाली शहरहरुमध्ये चीनको हङकङ सबैभन्दा महंगो शहरको सूचीमा २२ औं स्थानमा छ । त्यसबाहेक चीनका संघाई १९४, बेइजिङ २०९, सेन्जेन २११ र ग्वाङाउ २१५ औं महंगा शहर बनेका छन् ।
सबैभन्दा सस्तो शहरमा भारतसहित दक्षिण एशियाली मुलुकका शहरहरुको दबदबा रहँदा महंगा शहरहरुमा स्विटजरल्याण्ड र अमेरिका रहेका छन् । विश्वका १० महंगा शहरहरुमध्ये ५ वटा स्विटजरल्याण्डका, ५ वटा अमेरिकाका शहरहरु रहेका छन् । विश्वका सबैभन्दा महंगा तीन शहरहरुमा स्विटजरल्याण्डको क्रमशः ज्यूरिज, लुसाने र जेनेभा रहेका छन् । त्यस्तै चौथो महंगो शहर अमेरिकाको न्यूयोर्क, पाँचौ र छैठौं स्विटजरल्याण्डकै बसेल र बर्न शहर रहेका छन् ।
सूचीको नवौं स्थानमा आयरल्याण्डको र्याकाभिज रहँदा सातौं, आठौं र दशौं महंगा शहरमा क्रमशः अमेरिकाका सन फ्रान्सिस्को, होनोलुलु र बोस्टन रहेका छन् ।





