काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब सवा २ अर्ब रुपैयाँ बराबर रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले आइतबार सूचना जारी गरी आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब १९ करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो ।

केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दती निक्षेपमा लगानी गरिने छ ।
वाणिज्य बैंकमा १ अर्ब ७५ करोड २० लाख, विकास बैंकमा ३२ करोड ८५ लाख र वित्त कम्पनीमा १० करोड ९५ लाख मुद्दती निक्षेपमा लगानी गरिने छ । ६ फागुन २०८१ देखि ६ फागुन २०८२ सम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।
त्यस्तै राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने भएको भए फुकेवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ ।





