काठमाडाै। पछिल्लो समय नेपाली बजारमा खानेतेल र जिराको मूल्यमा गिरावट आएको छ। केही महिनाअघि महँगो भएको यी उपभोग्य वस्तुको मूल्य हाल घट्दै गएको छ, जसले उपभोक्तालाई केही राहत मिलेको छ।
खानेतेलको मूल्यमा निरन्तर गिरावट देखिएको छ। केही महिना अघि प्रतिलिटर २५५ रुपैयाँ रहेको सनफ्लावर तेलको मूल्य हाल १० रुपैयाँले घटेर २४५ रुपैयाँमा झरेको छ। सोयाबिन तेल तथा अन्य प्रशोधित तेलका मूल्यहरूमा पनि यस्तै गिरावट देखिएको छ। व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको कमी तथा आयात शुल्कसम्बन्धी केही सहजताका कारण तेलको मूल्यमा गिरावट आएको हो।

जिराको मूल्यमा पनि उल्लेखनीय गिरावट आएको छ। गत असोज-कात्तिक महिनामा प्रतिकिलो ८०० रुपैयाँमा कारोबार भएको गेडा जिराको मूल्य हाल २५० रुपैयाँले घटेर ५५० रुपैयाँमा पुगेको छ। व्यापारीहरूका अनुसार भारत तथा अन्य मुलुकहरूबाट जिराको आपूर्ति बढेकोले मूल्यमा गिरावट आएको हो।
नेपालमा पछिल्लो समय खाद्यान्न तथा मसला बजारमा देखिएको अस्थिरताका बीच यी वस्तुहरूको मूल्य घट्नु सकारात्मक संकेत मानिएको छ। उपभोक्ता हित संरक्षण मञ्चका अनुसार सरकार तथा सम्बन्धित निकायहरूले मूल्य स्थिर राख्न प्रभावकारी नीति लिनुपर्ने आवश्यकता छ।
बजार विश्लेषकहरूका अनुसार आगामी दिनहरूमा पनि आपूर्ति सहज रहे जिरा तथा खानेतेलको मूल्य थप घट्न सक्ने अनुमान गरिएको छ। उपभोक्ताहरूले पनि बजार मूल्यबारे अपडेट रहनु आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।





