काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थक डा. निकोलस भुसालले सामाजिक सञ्जालमा भाइरल भइरहेको लामिछानेको फोटो आफूले खिचेको दाबी गरेका छन् । यसमा कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी मागेका छन् ।
डा. भुसालले दुई दिनअघि ‘नागरिक विद्रोह’ का जुट्न आह्वान गर्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए । उनले शनिबार चितवनमा आन्दोलनका लागि जुट्न आह्वान गरेको पोस्टरसहित रविको उक्त भाइरल तस्बिर हालेका थिए । तर, रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले तस्बिरबारे प्रश्न उठाएपछि उनले रविको तस्बिर हटाएका थिए ।

‘यो पुलिसले ल्याएको होइन, म दोषी छु । मैले यो फोटो बाहिर ल्याएको हुँ,’ भुसालले एक भिडियोमा भनेका छन्, ‘यसवाफत नेपाल प्रहरी र नेपाल सरकारसँग माफी माग्न चाहन्छु ।’
उनले रविको स्वास्थ्य परीक्षणका लागि हिरासतमा गएको बेला प्रहरीकै सामुन्ने फोटो खिचेको र त्यसबारे प्रहरीलाई पनि जानकारी भएको बताएका छन् । फोटो खिच्ने उद्देश्य रविको स्वास्थ्य अवस्था ठिक रहेको देखाउनु भएको उनको भनाइ छ ।
‘भाइरल गराउन, फाइदा लिन, कसैलाई दोष लगाउन वा नराम्रो भन्नका लागि मैले यो फोटो खिचेको होइन,’ भुसालले भने । उनका अनुसार, यस फोटोमार्फत गृहमन्त्रीको जिम्मेवारी सम्हालेको व्यक्ति अहिले कस्तो अवस्थामा छन् भन्ने वास्तविकता देखाउन मात्र खोजिएको हो ।
रविको भनिएको भाइरल फोटोको वास्तविकता पत्ता लगाउन कास्की प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।





