काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ प्रदर्शनीमा प्रविधिप्रेमीहरूको उत्साहजनक सहभागिता देखिएको छ। क्यान महासंघले यस प्रदर्शनीलाई नेपालकै सबैभन्दा ठूलो सूचना प्रविधि मेला मान्दै नयाँ प्रविधि, स्मार्ट सफ्टवेयर र एआई प्रोजेक्टहरूको प्रदर्शन गरेको छ।
यस वर्षको क्यान इन्फोटेकमा एआइको प्रयोग भएका परियोजनाहरू, स्वास्थ्य र कृषि क्षेत्रमा आधारित स्मार्ट सफ्टवेयर, रोबोटिक्स र डिजिटल प्राविधिक समाधानहरू प्रमुख आकर्षण बनेका छन्। एआई रोबोट र ह्युमनाइड रोबोट प्रदर्शनीको आकर्षणको केन्द्र बनेका छन्। यसका साथै, नेपालका विद्यार्थीहरूले तयार गरेका कोडिङ प्रोजेक्टहरू, जसले किसानलाई डिजिटल रूपमा सघाउने एप्लिकेसन, स्वास्थ्य क्षेत्रका समाधान र अन्य नवप्रवर्तनका परियोजनाहरू पनि प्रदर्शनमा राखिएका छन्।

दैनिक लगभग ८–१० लाख रुपैयाँ कारोबार भइरहेको यो प्रदर्शनी माघ २८ गतेसम्म सञ्चालन हुनेछ। क्यान महासंघका उपाध्यक्ष चिरञ्जीवि अधिकारीका अनुसार, यो प्रदर्शनीले नेपालका युवाहरूसँगै आईटी क्षेत्रमा नवाचार र प्रविधिको क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने उद्देश्य राखेको छ। प्रदर्शनीमा १५५ ओटा स्टल रहेको छ र यहाँ विभिन्न कम्पनीहरूले विशेष छुट र अफर घोषणा गरेका छन्।
त्यस्तै विभिन्न कम्पनीले विश्वविख्यात नेटवर्किङ प्रडक्टहरू, वायरलेस क्यामेरा, सीसीक्यामेरा, स्मार्ट बोर्ड तथा अन्य सेक्युरिटी प्रडक्टहरू विशेष छुटसहित प्रदर्शनीमा राखेका छन् । क्यान इन्फोटेकमा स्वदेशी सफ्टवेयर कम्पनीले आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्नुका साथै क्यान इन्फोटेक अवधिभर ३० प्रतिशतसम्म छुट घोषणा गरेका छन् ।
त्यस्तै, एआईमा आधारित क्यामेरादेखि ह्युमनाइड रोबोट र सेल्फ ड्राइभिङ कारले यसपालिको क्यान इन्फोटेकको रौनकता थपेका छन् । साथै, क्यान इन्फोटेकमै राष्ट्रिय परिचयपत्रको लाइभ इनरोलमेन्ट सुविधा दिइएको छ । क्यान इन्फोटेकमा साइबर सुरक्षा सहायता डेस्कदेखि विद्यार्थीहरूले तयार पारेका डेटा साइन्स, सेन्सर टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स लगायतका प्रोजेक्ट राखिएका छन् । कुल १५५ ओटा स्टलसहित सञ्चालन भइरहेको क्यान इन्फोटेक सोमबारसम्म चल्नेछ ।





