काठमाडौं । वाणिज्य बैंकहरुले ६ महिनामै झन्डै साढे १२ अर्ब रुपैयाँ आयकर सरकारलाई बुझाएका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मकाे राजस्व सरकारलाई बुझाएका हुन् ।
बैंकहरुले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १२ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ आयकर तिरेका छन् । तर, यो गत आवको तुलनामा भने २.३३ प्रतिशत कमी हो । गत आवको पहिलो ६ महिनामा बैंकहरुले १२ अर्ब ६६ करोड १४ लाख रुपैयाँ आयकर बुझाएका छन् ।

समिक्षा अवधिमा अधिकांश बैंकहरुको आयकर घटेको छ । ११ वटा बैंकको आयकरमा गिरावट आएको छ । गत वर्षको तुलनामा भने प्रभू बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, ग्लोबल आइएमई र एभरेष्ट बैंकले राजश्व बढाएका छन् ।
समिक्षा अवधिमा सबैभन्दा धेरै कर नबिल बैंकले तिरेको छ । चालु आवको ६ महिनामा बैंकले १ अर्ब ३९ करोड २१ लाख रुपैयाँ कर सरकारलाई बुझाएको छ । यो गत आवको तुलनामा भने ५.५७ प्रतिशत बढी हो ।
दोस्रोमा रहेको एनआइएमबिले १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ बुझाएको छ । यस्तै, प्रभू बैंकले पनि ६ महिनामा १ अर्ब १८ करोड ७४ लाख, ग्लोबलले १ अर्ब १५ करोड २२ लाख र एभरेष्ट बैंकले १ अर्ब ३ करोड २० लाख रुपैयाँ आयकर बुझाएका छन् ।
यी पाँच वटा बैंकले मात्रै अर्ब बढी कर सरकारलाई तिरेका छन् । समिक्षा अवधिमा एनआइसी एशियाले ६ करोड ५० लाख रुपैयाँ तिरेको छ ।
समिक्षा अवधिमा एनएमबि बैंकले ८३ करोड ५५ लाख, प्राइमले ७९ करोड २३ लाख, स्ट्याण्डर्ड चार्टर्डले ७० करोड ३१ लाख, हिमालयनले ६५ करोड २८ लाख, लक्ष्मी सनराइजले ५० करोड ७५ लाख, सानिमाले ४५ करोड ५७ लाख, नेपाल एसबिआईले ४४ करोड ३० लाख, कुमारीले ४१ करोड ४६ लाख रुपैयाँ कर तिरेका छन् ।
कृषि विकास बैंकले ३९ करोड ५ लाख, माछापुच्छ्रेले ३४ करोड ५९ लाख, राष्ट्रिय वाणिज्यले ३२ करोड ७० लाख, सिटिजन्सले २६ करोड र सिद्धार्थ बैंकले २३ करोड २४ लाख रुपैयाँ कर तिरेका छन् ।
समिक्षा अवधिमा नेपाल बैंकको आयकर भने ४ करोड २४ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।





