काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन् ।
नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलन, २०२५ को उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनुपर्ने बताए ।

उनले भ्रष्टाचार नियन्त्रण गर्नेकुरा स्टन्टबाजी नभएको बताए । उनले आफ्नो श्रीमती (राधिका शाक्य) को नाममा स्वीट्जरल्यान्डको बैंकमा ४१ करोड डलर छ भन्ने भ्रमपूर्ण प्रचार गरिएको भन्दै आपत्ति जनाए ।
‘भ्रष्टाचार नियन्त्रण गर्नै पर्दछ । अहिलेको वर्तमान सरकार जसको नेतृत्व मैले गरिरहेको छु । यस सरकारले म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न भनेको छ । थाहा पाएसम्म, जाने बुझेसम्म । कहाँ कहाँ भएको छ कहाँ कहाँ भएको छ । मुसाले कहाँ कहाँ प्वाल पार्छ थाहा पाए त हो । त्यसकारण थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्न । भए नियन्त्रण गर्दछु । यो स्टन्टबाजी होइन,’ उनले भने ।





