काठमाडौं। तीव्र गतिका बलर सोहेल तन्भिरको पाँच विकेटको सहयोगमा पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ। सोमवार भएको लिगको आफ्नो पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । काठमाडौंले दिएको १ सय १२ रनको सामान्य लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
चितवनका लागि सन्तोष कार्कीले ३१ बलमा २ चौका र १ छक्काको सहयोगमा नट आउट रहँदै सर्वाधिक २८ रन बनाए । लुक बेन्केनस्टेइनले १७ बलमा १ चौका र २ छक्काको २२ रन बनाए । उनी जेर्हाड एरास्मसकाे बलमा एलबिडब्लु धरापमा परे । ओपनर हसन इसाखिलले ७ बलमा १ चौका र १ छक्काको सहयोगमा १२ रन जोडे । कप्तान कुशल मल्ल र रवि बोपाराले समान ११ रन जोडे ।

शरद भेषवाकर ११ रनमा नट आउट रहे । काठमाडौंका लागि साहब आलमले ३ तथा डान डाउथवेट तथा जेर्हाड एरास्मसले समान १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो ।
काठमाडौंका लागि सुमित महर्जनले ४१ बलमा सर्वाधिक २९ रन जोडे । महर्जन १७औं ओभरको पाँचौं बलमा रिजन ढकालको बलमा आउट भए । माइकल लेभिटले १६ बलमा ४ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए । काठमाडौंले दोस्रो विकेटका रुपमा आउट भएका लेभिटलाई तन्भिरको बलमा आउट गराएका थिए । लेभिट चौथो ओभरको चौथो बलमा दीपक बोहोराबाट समातिए ।
काठमाडौंले पहिलो विकेटका रुपमा ओपनर स्टेफन स्किनाजीलाई सोहेल तन्भिरले आउट गराए । स्किनाजी २ बलमा ४ रन बनाएर अमरसिंह राउटेलाको हातबाट समातिए ।
तेस्रो विकेटका रुपमा काठमाडौंले अर्का विदेशी खेलाडी जेरार्ड एरास्मसलाई ४ बलमा ४ रनमा गुमायो । उनलाई चितवनका कप्तान कुशल मल्लले बोल्ड आउट गराए । चौथो विकेटका रुपमा भीम सार्की ४ बलमा १ रन बनाउँदै तन्भिरको बलमा एलबिडब्लु धरापमा परे ।
पाँचौ विकेटका लागि शंकर राना तथा सुमित महर्जनले २९ रनको साझेदारी गरे । शंकर दशौं ओभरको तेस्रो बलमा अमरसिंह राउटेलाको बलमा आउट भए । शंकर १७ बलमा १ चौका र १ छक्काको सहयोगमा १६ रन बनाउँदै आउट भए । शंकर विकेटकिपर विपिन रावलबाट क्याच भएका थिए ।
तेह्रौं ओभरको पहिलो बलमा लुक बेन्केनस्टेइनद्वारा राशिद खान ९ बलमा ४ रन बनाउँदै आउट भए । राशिद शरद भेषवाकरद्वारा समातिएका थिए । डान डाउथवेटले १८ बलमा नट आउट १९ रन जोडे ।
चितवनका लागि तन्भिरले ४ ओभरमा २१ रन खर्चिएर ५ विकेट लिए । एनपिएल एकै बलरले लिएको यो पहिलो पाँच विकेट हो । रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टेइनले समान १ विकेट लिए ।
आज हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । कर्णाली र जनकपुरबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा विराटनगरमाथि ८ विकेटको सहज जित हासिल गरेको जनकपुरले जितको निरन्तरताको लागि प्रयास गर्नेछ । उता, एनपिएलकै ठूलो नाम मध्येका एक शिखर धवनलाई अनुबन्ध गरेको कर्णाली पनि जितबाट सुरुवात गर्न चाहन्छ।
जनकपुर अनिल शाहको र कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहेको छ । पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।





