काठमाडौं । प्रहरीमाथि कुटपिट गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता कमल जोशी पक्राउ परेका छन्।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार जोशीलाई बिहीबार साँझ ४ बजे नयाँ बानेश्वरबाट पक्राउ परेकाे हो।

माघ २४ गते ठमेलमा दरबारमार्ग वृत्तको क्विक रेस्पोन्स टिम (क्युआरटी) मा कार्यरत प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नर्गेन्द्रराज विष्टमाथि कुटपिट भएको थियो। सो घटनामा संलग्न भएको आरोपमा ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई प्रहरीले माघ २७ गते नै पक्राउ गरिसकेको थियो।
तर, सीसीटीभी फुटेजमा जोशी देखिए पनि सुरुवाती चरणमा उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको थिएन। उनलाई उन्मुक्ति दिने प्रयास भएको भन्दै आलोचना बढेपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयमा पक्राउ पुर्जी जारी गर्न पत्राचार गरेको थियो।
जोशीमाथि लागेको आरोप पुष्टि गर्ने प्रमाणहरू सार्वजनिक भएसँगै अनुसन्धानलाई अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।





